माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
8.8K
SHARES

१८ पुस काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। बैठक बिहान ११ बजे महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा बस्ने नेता गणेश साहले बताए। आजको बैठकले केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गरी अन्तिम टुंगो लगाउने साहको भनाइ छ। पार्टीको गत आइतबारदेखि जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा समापन हुन सकेको छैन।

सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ। महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ।

शनिवार दिनभर सहमतिको प्रयासका लागि महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छुट्टाछुट्टै छलफल चले पनि निष्कर्ष भने निस्कन सकेन। यस्तो छलफल आइतबार ११ बजे स्थायी कमिटी बैठक अगाडिसम्म जारी रहने नेताहरूले बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ बताइ सकेका छन्।

माओवादी केन्द्र स्रोतका अनुसार महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छलफलले आ-आफ्नो प्रदेशबाट केन्द्रीय समितिमा सहमतिबाट आउने आकांक्षीको प्रारम्भिक सूची तयार पारेर केन्द्रीय कार्यालयमा बुझाएको छ। अरू सबै प्रदेशले आफ्नो छलफल टुंग्याए पनि प्रदेश २ मा केही विवाद देखिएकाले आकांक्षीको सूची बुझाएको छैन।

आजको स्थायी कमिटीले सबै प्रदेशबाट आएका नामहरूमा छलफल गर्ने र १ बजे सुरु हुने बन्दसत्रको हलमा केन्द्रीय कमिटीको सूची प्रस्तुत गर्ने तयारी रहेको बुझिएको छ। यदि सहमति हुन नसके नसके आजै दिउसोबाट निर्वाचन प्रक्रियामा जाने सुरु गरिने बताइएको छ।