कांग्रेसका १६ जिल्लाको अधिवेशन मिति फेरि सारियो


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २१ २०७८
7.4K
SHARES

२१ पुस काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति अन्तिमपटक भन्दै सारिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन मिति पुनः सारेको हो । समितिका सदस्यसचिव केशव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको मिति सारिएको जनाइएको छ । निर्वाचन समितिका अनुसार अब माघ १५ गते अधिवेशन गर्ने निर्णय भएको छ । यसअघि, यही पुस २७ गते अधिवेशनको मिति तय थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका कारण अधिवेशन सारिएको जनाइएको छ । “यही २०७८ साल माघ १२ गते मुलुकका सातवटै प्रदेशमा सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको पौष १२ गतेको निर्णयानुसार जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन २०७८ पौष २७ गते गर्ने भनिएकोमा उक्त जिल्लाहरुको जिल्ला कार्यसमितिको निर्वाचन, २०७८ माघ १५ गते शनिबारका दिन हुने भएको व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी छ ।