यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१
2.9K
SHARES

५ कार्तिक जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने प्रधानमन्त्रीले नै पुष्टि गरेको आरोप लगाएका छन् ।प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको भन्दै आएको दोहोर्‍याए ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाइँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरकेो छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताए ।

प्रचण्डले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं । आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरूपमा आफूलाई हटाएको उनले जिकिर गरे ।

‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानिलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविकरूपमा सरकार बनाइयो’, उनको टिप्पणी छ ।आफ्नो पालामा दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको प्रचण्डले बताए ।